काठमाडौं, जेठ १८ — समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रधानमन्त्रीले हालै दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त भनाइ तथ्यहीन, गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत भएको जनाएको छ।
पार्टीका कार्यवाहक महासचिव अशोक सुवेदीद्वारा जारी प्रेस वक्तव्यमा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले व्यक्त गरेको धारणा सीमाजस्तो संवेदनशील विषयमा अहिलेसम्म कुनै आधिकारिक निकायबाट सार्वजनिक नभएको विषय भएको उल्लेख गर्दै त्यसप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
वक्तव्यमा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतद्वारा हुँदै आएको अतिक्रमणको विषय उठाइएका बेला प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गरिएको छ। पार्टीले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने र नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिनुपर्ने मागसमेत गरेको छ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा कुनै सम्झौता हुन नसक्ने बताउँदै देशभक्ति केवल भावनाको विषय नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको सवाल भएको जनाएको छ।
वक्तव्यमा प्रधानमन्त्रीले भारतसँग गरेको भनिएको सुपुर्दगी सन्धि, एमसीसी र एसपीपीजस्ता विषयहरूलाई समेत उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइएको छ। पार्टीले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिविरुद्ध सम्पूर्ण नेपाली जनतालाई विरोधमा उत्रिन आह्वान गर्दै आगामी दिनमा थप संघर्षका कार्यक्रम सार्वजनिक गरिने जनाएको छ।
कार्यवाहक महासचिव सुवेदीले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै सीमा सम्बन्धी विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
प्रेस वक्तव्य












Leave a Reply