पत्रकार किशोर श्रेष्ठ पक्राउको घटनाप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर आपत्ति

11 Bhadra 2083
[ssba-buttons]
पत्रकार किशोर श्रेष्ठ पक्राउको घटनाप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर आपत्ति

२८ साउन २०८३,

काठमाडौँ । समाचार लेखेकै आधारमा जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति जनाएको छ ।

सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा पत्रकारले प्रकाशित गरेको समाचारमा कसैलाई गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको उल्लेख गरिएको छ ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ रहेको भन्दै सोसाइटीले पत्रकारलाई समाचार प्रकाशनकै कारण पक्राउ गर्ने वा अनुसन्धानका नाममा दुःख दिने कार्यले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने जनाएको छ ।

प्रकाशित समाचारसँग सम्बन्धित कानुनी प्रश्न भए कानुनी उपचार खोज्नुपर्नेमा जोड दिँदै सोसाइटीले पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

नेपाल मिडिया सोसाइटीले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै प्रकाशित समाचारका विषयमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति आफू सधैँ सचेत, प्रतिबद्ध र खबरदारीमा रहने सोसाइटीले जनाएको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *