७ कार्तिक २०८३,
बाँके, बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान दुई कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका शाहीलाई उपचारका लागि अस्पताल लगिएकोमा बिहान १० बजेर ८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका थिए।
दुर्घटनामा पहिलो कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था भने सामान्य रहेको छ। उक्त कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ का ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।
त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १० बजेर १५ मिनेटमा पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।










Leave a Reply