धनगढी बैशाख ३ / धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान र अध्ययन–अध्यापन सञ्चालनको समयतालिका परिवर्तन गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले पठाएको पत्रअनुसार तय गरिएको समयतालिका उल्ट्याउँदै उपमहानगरपालिकाले छुट्टै निर्णय गरेको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको पत्रअनुसार देशभर शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु हुने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराइएको थियो। तर स्थानीय सरोकारवालासँगको छलफल तथा नगर शिक्षा समितिको निर्णयअनुसार धनगढी उपमहानगरपालिकाले समयतालिका परिवर्तन गरेको जनाएको छ।
उपमहानगरपालिकाको निर्णयअनुसार उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले वैशाख ४ गतेदेखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुपर्नेछ। त्यस्तै वैशाख १४ गतेदेखि विद्यालयमा नियमित अध्ययन–अध्यापन सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ।
उपमहानगरपालिकाले विद्यार्थीको अध्ययनमा अवरोध नहोस् र विद्यालयको वार्षिक शैक्षिक कार्यक्रम समयमै सञ्चालन होस् भन्ने उद्देश्यले समयतालिका परिमार्जन गरिएको जनाएको छ। साथै सबै विद्यालयलाई उक्त निर्णयअनुसार कार्यान्वयन गर्न आग्रह गरिएको छ।












Leave a Reply