अस्पताल विवादबारे लम्कीचुहा नगरपालिकाको प्रेस विज्ञप्ति सार्वजनिक

20 Jestha 2083
[ssba-buttons]
अस्पताल विवादबारे लम्कीचुहा नगरपालिकाको प्रेस विज्ञप्ति सार्वजनिक

भल्का, कैलाली ३० वैशाख लम्कीचुहाँ नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय परिसरभित्र भएको गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। नगरपालिकाले आन्दोलनकारी समूहको नाममा कार्यालयमा जबर्जस्ती प्रवेश, कर्मचारीमाथि दुर्व्यवहार तथा सेवा प्रवाहमा अवरोध गरिएको आरोप लगाएको हो।

कार्यालय प्रवेशदेखि कर्मचारीमाथि दुर्व्यवहारसम्म
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ—
“आज मिति २०८३/०१/३० गते संघर्ष समिति तथा आन्दोलनकारीको नाममा लम्कीचुहाँ नगरपालिकाको कार्यालय परिसरभित्र जबर्जस्ती प्रवेश गरी अराजक गतिविधि गर्न, संस्थाको भौतिक सम्पत्तिमाथि आक्रमण गर्न, कर्मचारीमाथि हातपात गर्न, नगर प्रमुखलाई लक्षित गर्दै अशोभनीय गालीगलौज गर्न तथा नगरपालिकाको नियमित सेवा प्रवाहमा अवरोध गरी कर्मचारीलाई आतंकित बनाउँदै सेवा अवरोध सिर्जना गर्ने कार्यप्रति घोर भर्त्सना तथा निन्दा व्यक्त गर्दछु ।”

अस्पताल स्तरोन्नतिको विषयमा नगरपालिकाको स्पष्टिकरण
नगरपालिकाले लम्कीचुहाँ नगर अस्पताललाई प्रदेशकै नमूना अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय पहिलेदेखि नै अगाडि बढाइएको जनाएको छ।


विज्ञप्तिमा उल्लेख गरिएको छ—
“उक्त अस्पतालको दीर्घकालीन सञ्चालन, सेवा विस्तार तथा आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले नगरपालिका सुरुदेखि नै सकारात्मक, जिम्मेवार र समाधानमुखी रूपमा अघि बढिरहेको सर्वविदित छ।

प्रदेश सरकारसँग समन्वय नभएको आरोप
नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकार र नगरपालिकाबीच हुने भनिएको समझदारीपत्र (MOU) सम्बन्धमा आवश्यक छलफल र सहकार्यका लागि पटक–पटक आग्रह गर्दा पनि त्यसलाई बेवास्ता गरिएको दाबी गरेको छ।


विज्ञप्तिमा भनिएको छ—
“सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको निर्देशनमा नगरपालिकासँग कुनै समन्वय तथा औपचारिक छलफल नगरी एकलौटी, स्वेच्छाचारी र असन्तुलित ढंगले समिति गठन लगायतका प्रक्रिया अगाडि बढाइएकाले हाम्रो स्पष्ट विमति रहेको हो ।”
‘’

जनताको हित केन्द्रमा राखेर पहल गरेका थियौं
नगरपालिकाले अस्पतालको विषयलाई लिएर आफूहरूले सामाजिक विकास मन्त्रालयका सचिवसहित सम्बन्धित अधिकारीहरूसँग विस्तृत छलफल गरेको जनाएको छ।
त्यस क्रममा विकास सहकार्यका चार बुँदे सहमति सार्वजनिक गरिएको भए पनि प्रदेश सरकारबाट त्यसको इमानदार कार्यान्वयन हुन नसकेको आरोप लगाइएको छ।

सर्वदलीय छलफलका लागि आह्वान
विवाद समाधानका लागि नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय संवादको प्रस्ताव अघि सारेको छ।


विज्ञप्तिअनुसार—
“२०८३ जेठ ७ गते, दिउँसो ३ बजे, लम्कीचुहाँ नगरपालिका कार्यालयमा उपस्थितिका लागि सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्बन्धित सबै पक्षमा हार्दिक अनुरोध गरिएको छ ।”

पुनः अराजक गतिविधि नगर्न चेतावनी
नगरपालिकाले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी आन्दोलनकारी समूह र संलग्न पक्षले नै वहन गर्नुपर्ने स्पष्ट पारेको छ।


विज्ञप्तिको अन्त्यमा भनिएको छ—
“संवाद, सहकार्य र विधिको शासनमार्फत मात्र स्थायी समाधान सम्भव छ भन्ने विश्वासका साथ सम्पूर्ण नगरवासीमा संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन हार्दिक अपिल गर्दछु ।”

प्रेस विज्ञप्ति

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • .

  • .

  • .

  • .

  • .

Tags