तीन दिनदेखि संसद् अवरुद्ध रहेको उल्लेख गर्दै रास्वपा सांसद तामाङले बजेटमाथिको छलफल रोकिँदा देशलाई घाटा भएको बताइन्, प्रधानमन्त्रीलाई सदनमा आएर प्रतिपक्षका प्रश्नको जवाफ दिन आग्रह
काठमाडौं १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसद् लगातार अवरुद्ध भइरहनु देशका लागि घातक भएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्षबीच विभेद गर्न नहुने उल्लेख गरेकी छन्।
तामाङले विपक्ष सधैँ सही र सत्ता पक्ष सधैँ गलत नहुने भन्दै राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखेकी छन्।
राष्ट्रियताको सवालमा सत्ता–विपक्ष एक हुनुपर्छ
तामाङले राष्ट्रियताको विषयमा राजनीतिक दलहरूबीच विभाजन हुन नहुने बताएकी छन्। देश र जनताको हितका सवालमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
“जब राष्ट्रियताको कुरा आउँछ, हामीले सत्ता पक्ष र विपक्ष भनेर विभेद गर्नु कदापि हुँदैन, हामी एकजुट हुनु पर्दछ,” उनले लेखेकी छन्।
बजेटमाथि बहस नहुँदा देशलाई घाटा
उनले तीन दिनदेखि संसद् बैठक सञ्चालन हुन नसकेको उल्लेख गर्दै सांसदको भूमिका केवल हाजिर गर्ने र भत्ता बुझ्नेमा सीमित हुन नहुने बताएकी छन्। उनका अनुसार देश विकासको मेरुदण्ड मानिएको बजेटमाथि नै संसद्मा बहस हुन नसक्नु दुर्भाग्यपूर्ण अवस्था हो।
“जब देश विकासको मेरुदण्ड बजेटमा हामी बहस गर्न असमर्थ छौँ भने देशले कसरी पाउँछ निकास र विकास ?” उनले प्रश्न गरेकी छन्।
‘मेरो गोरुको बाह्रै टक्का’ प्रवृत्तिबाट मुक्त हुन आग्रह
तामाङले नयाँ राजनीतिक शक्तिहरू समेत पुरानै जिद्दी र अडानको राजनीतिमा फस्न नहुने संकेत गर्दै सबै पक्षले लचकता देखाउनुपर्ने आवश्यकता औँल्याएकी छन्। उनले सहिदहरूको बलिदानको सम्मान हुने गरी राजनीतिक दलहरूले जिम्मेवार व्यवहार गर्नुपर्ने बताएकी छन्।
सभामुखले चाहेर पनि सदन चलाउन पाएका छैनन्
यसै क्रममा उनले सभामुखको भूमिकाबारे पनि टिप्पणी गरेकी छन्। संसद् सञ्चालन हुन नसक्दा सभामुखसमेत असहज अवस्थामा रहेको संकेत गर्दै उनले लेखेकी छन्, “हरेक दिन सभामुखको मुख सानो–सानो न्याउरो देख्दै, हुँदै गएको देख्छु।”
तामाङले आफूलाई मात्र नभई धेरैलाई सभामुखले चाहेर पनि आफ्नो जिम्मेवारीअनुसार सभा सञ्चालन गर्न नपाएको महसुस भएको उल्लेख गरेकी छन्।
प्रधानमन्त्रीलाई भावुक अपिल
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै तामाङले आफूहरू सबैको अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्। उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर प्रतिपक्षका प्रश्नहरूको जवाफ दिन तथा संसद्को गतिरोध अन्त्य गर्न अपिल गरेकी छन्।
“तपाईं हाम्रो अभिभावक हो, हामी सबै तपाईंका सन्तान हौँ। अब तपाईंले नै हामीलाई वास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौँ,” तामाङले लेखेकी छन्।
सदनमा आएर प्रतिपक्षका सवालको जवाफ दिनुहोस्
तामाङले अन्त्यमा प्रधानमन्त्रीलाई सदनमा आएर प्रतिपक्षका सवालहरूको जवाफ दिन तथा बजेटमाथिको महत्वपूर्ण छलफल अघि बढाउन वातावरण बनाउन आग्रह गरेकी छन्। संसद्को अवरोध अन्त्य गरेर राष्ट्रिय महत्वका विषयमा छलफल हुनुपर्ने उनको जोड छ।












Leave a Reply