गोदावरीमा घरटहरा भत्काइएका नागरिकको पक्षमा नेकपा (बहुमत) को आवाज, दोषीमाथि कारबाहीको माग

13 Ashadh 2083
[ssba-buttons]
गोदावरीमा घरटहरा भत्काइएका नागरिकको पक्षमा नेकपा (बहुमत) को आवाज, दोषीमाथि कारबाहीको माग

कैलाली, असार १ – गोदावरी नगरपालिका क्षेत्रमा अतिक्रमण हटाउने नाममा वर्षौंदेखि बसोबास गर्दै आएका दर्जनौं नागरिकका घरटहरा भत्काइएपछि प्रभावित नागरिकको उचित व्यवस्थापन, पुनर्स्थापना तथा जीविकोपार्जनको सुनिश्चितता नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीले गम्भीर ध्यानाकर्षण जनाएको छ।


पार्टीको जिल्ला संगठन समिति कैलालीद्वारा जारी प्रेस विज्ञप्तिमा राज्य तथा सम्बन्धित निकायले जनताको समस्या समाधान गर्नुको सट्टा थप पीडा थप्ने काम गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा गोदावरीकी श्रमिक महिला धनदेवी धामीको टेम्पोलाई भिरमा फालिएको तथा जीविकोपार्जनको आधार बनेको टहरो भत्काइएको घटनाप्रति विशेष चिन्ता व्यक्त गरिएको छ।


पार्टीले घटनापछि डिभिजन वन कार्यालय कैलालीले जारी गरेको प्रेस विज्ञप्तिमार्फत सत्यलाई तोडमोड गर्ने, जनतालाई भ्रममा पार्ने र आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयास भएको दाबी गरेको छ। विज्ञप्तिमा “गरिब जनताको पसिना, संघर्ष र भविष्यसँग जोडिएको सम्पत्तिमाथि गरिएको अमानवीय व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने” उल्लेख गरिएको छ।


नेकपा (बहुमत) ले धनदेवी धामीले भोगेको पीडा राज्य संयन्त्रबाट भएको अमानवीय व्यवहारको परिणाम भएको दाबी गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिन माग गरेको छ। साथै घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित पक्षको पुनर्स्थापना तथा न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।


विज्ञप्तिमा सम्बन्धित निकाय अझै पनि मौन बसेर दोषीलाई जोगाउने र जनताको आवाजलाई बेवास्ता गर्ने बाटोमा अघि बढे जनआक्रोश थप चर्किन सक्ने चेतावनीसमेत दिइएको छ।


पार्टीले अन्त्यमा “गरिब जनतामाथिको दमन बन्द गर”, “धनदेवी धामीलाई न्याय दे” र “दोषीलाई कारबाही गर” भन्ने नारासहित आफ्नो धारणा सार्वजनिक गरेको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tags