श्री महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ता तथा सेयर सदस्यहरुले तुर्माखाँद गाउँपालिका कार्यालयमा सामूहिक निवेदन दर्ता गरे।
अछाम, ४ असार / तुर्माखाँद गाउँपालिका– ४ का १०९ जना बचतकर्ता तथा सेयर सदस्यहरुले एक दशकदेखि रोकिएको आफ्नो बचत रकम फिर्ता गराउन र सहकारीमा भएको अनियमितताको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै गाउँपालिकामा सामूहिक निवेदन दर्ता गरेका छन्।
श्री महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचत तथा लगानी गरेका पीडितहरूले प्रमुख प्रशासकीय अधिकृतमार्फत गाउँपालिकाको ध्यानाकर्षण गराउँदै आफ्नो श्रम, पसिना र मेहनतबाट आर्जन गरेको रकम करिब १० वर्ष बितिसक्दा पनि फिर्ता नपाएको गुनासो गरेका छन्।
निवेदनमा सहकारीको व्यवस्थापन र आर्थिक कारोबार सम्बन्धमा विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै बचतकर्ताहरूले आफूहरूको रकम सुरक्षित रूपमा फिर्ता हुने कुनै सुनिश्चितता नभएको बताएका छन्।
पीडितहरूका अनुसार बचत रकम लामो समयदेखि रोकिँदा परिवारको दैनिक खर्च व्यवस्थापन, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार, कृषि तथा व्यवसाय सञ्चालनजस्ता अत्यावश्यक कामहरू प्रभावित भएका छन्। कतिपय पीडित आर्थिक, सामाजिक तथा मानसिक तनावमा जीवन बिताउन बाध्य भएको निवेदनमा उल्लेख गरिएको छ।
निवेदनमा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइए पनि हालसम्म समस्या समाधानका लागि प्रभावकारी पहल, स्पष्ट जानकारी तथा जिम्मेवार कार्यान्वयन हुन नसकेको आरोप लगाइएको छ। यसले पीडित बचतकर्ता तथा सेयर सदस्यहरूमा थप निराशा र आक्रोश पैदा गरेको उनीहरूको भनाइ छ।
पीडितका तीन मुख्य माग
सामूहिक निवेदनमार्फत पीडितहरूले गाउँपालिकासमक्ष तीन बुँदे माग अघि सारेका छन्
- सहकारीमा बचत गरिएको सम्पूर्ण रकम सुरक्षित गरी यथाशीघ्र फिर्ता गराउने व्यवस्था मिलाइयोस्।
- सहकारीको नाममा भएको अनियमितता, हिनामिना वा दुरुपयोगमा संलग्न पदाधिकारी तथा अन्य व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम छानबिन गरी आवश्यक कारबाही अगाडि बढाइयोस्।
- पीडित बचतकर्ताको समस्या समाधानका लागि गाउँपालिकाले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गरोस्।
पीडितहरूले आफ्नो माग सम्बोधनका लागि तत्काल पहल गरी लिखित रूपमा जानकारी गराउन समेत गाउँपालिका कार्यालयसँग अनुरोध गरेका छन्।
स्थानीयस्तरमा लामो समयदेखि निष्क्रिय रहेको सहकारी विवाद पुनः सतहमा आएपछि तुर्माखाँद गाउँपालिकामाथि समस्या समाधानका लागि आवश्यक पहल गर्न दबाब बढेको छ। १०९ जना बचतकर्ता तथा सेयर सदस्यहरुले एकैसाथ गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराएपछि सहकारी प्रकरणले नयाँ मोड लिएको स्थानीयहरूले बताएका छन्।












Leave a Reply