२ भदौ २०८३,
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुखले आफूलाई ‘मर्यादा’मा बस्न आग्रह गरेको विषयमा प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद तामाङले पीडित परिवारको विषयमा आफूले लामो समयदेखि पहल गर्दै आएको उल्लेख गरेकी छन्।
उनका अनुसार पीडितकी श्रीमती र बुवालाई साथमा लिएर उनले ३७ दिनको अवधिमा कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय र कहिले सम्बन्धित निकायसम्म पुगेर समस्या समाधानका लागि पहल गरेकी थिइन्।
तामाङले आफूले देखाएको ३७ दिनको धैर्यता र सहनशीलता पनि ‘मर्यादा’कै सीमाभित्र पर्ने कि नपर्ने भन्दै सभामुखसँग प्रश्न गरेकी छन्।
उनले सभामुखले भनेका हरेक कुरामा सहमति जनाउँदै मौन बस्नुलाई आफूले मर्यादाका रूपमा स्वीकार गर्न नसक्ने स्पष्ट पारेकी छन्।
तामाङले लेखेकी छन्, ‘मर्यादा भनेको सभामुखज्यूले जे भन्नुहुन्छ, हस् भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन।’
उनले यसअघि प्रतिपक्षले बिना कारण सभामुखको आलोचना गर्दा आफूले सदनमा सबैभन्दा अगाडि नियमापत्ति जनाउने गरेको पनि स्मरण गराएकी छन्।
तर जनतासँग प्रत्यक्ष जोडिएको विषयमा काममा ढिलासुस्ती भइरहेको अवस्थामा सदनमार्फत सरकारसँग जवाफ माग्नु आफ्नो अधिकार भएको उनको भनाइ छ।
तामाङले सरकार जनताका हरेक सवालमा जवाफदेही हुनुपर्ने धारणा राख्दै आफूले सभामुखमार्फत सरकारसँग जवाफ मात्र खोजेको स्पष्ट पारेकी छन्।










Leave a Reply