८ कार्तिक २०८३,
कैलाली, नेपाल–भारत सीमावर्ती भारतको बेला प्रशवा गाउँमा प्रत्येक हप्ताको आइतबार लाग्ने तरुनी बजारमा सस्तोमा सामान किनमेल गर्न जाने नेपाली उपभोक्ताको भीड लागेको छ। आलु, प्याज, टमाटरलगायतका तरकारीदेखि कपडा, खाद्यान्न र घरायसी उपभोग्य वस्तु खरिद गर्नको लागि कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट नेपाली नागरिक त्यहाँ पुग्ने गरेका छन्।
बजारमा आलु प्रतिकिलो भारतीय १० रुपैयाँमा पाइन्छ। नेपालमा त्यही आलुको मूल्य प्रतिकिलो ४० रुपैयाँ पर्ने गरेको स्थलगत अवलोकनमा देखिएको छ। मूल्यमा यस्तो अन्तर देखिएपछि नेपाली उपभोक्ता सीमापारिको बजारमा किनमेल गर्न आकर्षित हुने गरेका छन्।
आइतबार बजारमा पुग्दा सामान बोकेका महिला तथा पुरुषको चहलपहल देखिन्थ्यो। साइकल तथा मोटरसाइकलमा सामान बोकेर फर्किने उपभोक्ताको भीडसँगै बजारमा किनमेल गर्नेहरूको बाक्लो उपस्थिति थियो।
तरुनी बजारमा आलु, प्याज, टमाटरलगायतका तरकारी, खाद्यान्न, तेल, साबुन, सरफ, मासु, अन्डा, फलफूल, कपडा तथा कस्मेटिक सामग्री पाइन्छन्। कैलालीको भजनी नगरपालिका, कैलारी गाउँपालिकालगायत सीमावर्ती क्षेत्रका नागरिक नियमित रूपमा किनमेलका लागि त्यहाँ पुग्ने गरेको बताउँछन्।

स्थानीय उपभोक्ताका अनुसार अहिले धान काट्ने सिजन भएकाले अन्य समयको तुलना भन्दा बजारमा केही कम भीड छ। खेतीपातीको चाप कम भएका बेला भने बजारमा थुप्रै मानिसको आवतजावत हुने गरेको उनीहरूको भनाइ छ।
भारतीय नागरिकहरू पनि साइकलमा आलुजस्ता तरकारी बोकेर नेपालका सिमावर्ती क्षेत्रका गाउँगाउँसम्म बिक्री गर्न आउने गरेका छन्। यसले सीमावर्ती क्षेत्रमा हुने व्यापार बजारमा मात्र सीमित नभई नेपाली गाउँसम्म फैलिएको देखाउँछ।

खुला सीमाका कारण नेपाली उपभोक्तालाई भारतीय बजारसम्म पुग्न सहज भएको छ। सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु खरिद गर्न पाउनु उपभोक्ताका लागि लाभदायक भए पनि यसले नेपाली बजार, स्थानीय किसान र सीमावर्ती व्यापारीमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा थप अध्ययन आवश्यक छ।
नेपाल र भारतका बजारमा एउटै वस्तुको मूल्य किन फरक छ, नेपाली किसानले उत्पादन गरेको तरकारीले स्थानीय बजारमा उचित मूल्य पाइरहेको छ कि छैन र सीमापारिको व्यापारले नेपाली कृषि बजारमा कस्तो प्रभाव पारेको छ भन्ने प्रश्नले यस विषयलाई थप खोजमूलक बनाउँछ।










Leave a Reply