काठमाडौँ १४ चैत – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको बताइएको छ।
यसै क्रममा पूर्व गृहमन्त्री रमेश लेखक लाई पनि प्रहरीले पक्राउ गरेको छ। दुवैजनालाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ अभियानका लागि सुरक्षाकर्मीहरूले रातभरि गुण्डु क्षेत्रमा निगरानी राखेका थिए। त्यसपछि आज बिहान प्रहरीले पूर्व प्रधानमन्त्री ओलीलाई नियन्त्रणमा लिएर प्रहरीको सवारी साधन मार्फत कार्यालय पुगाइएको हो।
सरकारले जेन-जी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरे लगत्तै उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेपछि बसेको पहिलो मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार सरकारले तत्कालीन प्रधानमन्त्री ओलीसहित चारजना विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ। यसमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी तथा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल का विषयमा पनि सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरिएको छ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार रहेको बेला भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको घटनाबारे अध्ययन गर्न आयोग गठन गरिएको थियो। उक्त आयोगको नेतृत्व पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले गरेका थिए। आयोगले बुझाएको प्रतिवेदनमा जेन-जी आन्दोलनको मुख्य जिम्मेवारका रुपमा ओली र लेखकलाई ठहर गरिएको उल्लेख गरिएको छ। प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार आज शनिबार अदालत बिदा भएकाले दुवै जनालाई भोलि आइतबार अदालतमा पेश गरिने बताएको छ। अनुसन्धानका लागि थुनामा राख्न अनुमति माग्दै अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।
















Leave a Reply