नवऔपनिवेशिक पुँजीवादविरुद्ध संघर्षको घोषणा समाजवादी कम्युनिस्ट पार्टी नेपालले ‘नेपाली जनक्रान्ति’ कार्यदिशा सार्वजनिक गर्‍यो

13 Baishakh 2083
नवऔपनिवेशिक पुँजीवादविरुद्ध संघर्षको घोषणा समाजवादी कम्युनिस्ट पार्टी नेपालले ‘नेपाली जनक्रान्ति’ कार्यदिशा सार्वजनिक गर्‍यो

काठमाडौँ १० बैशाख — समाजवादी कम्युनिस्ट पार्टी नेपालले नेपालको वर्तमान सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थितिको विश्लेषण गर्दै ‘नेपाली जनक्रान्ति’लाई आफ्नो प्रमुख कार्यदिशा बनाएको घोषणा गरेको छ। पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देखिएका अन्तरविरोधहरूको समाधानका लागि जनआधारित क्रान्तिकारी आन्दोलन आवश्यक रहेको जनाएको छ।

नेपालका प्रमुख सामाजिक–आर्थिक अन्तरविरोध
पार्टीका अनुसार नेपालमा नवऔपनिवेशिक दलाल पुँजीवादी उत्पादन सम्बन्धले नयाँ अन्तरविरोधहरू जन्माएको छ। गरिब किसान र भूमाफिया तथा बिचौलियाबीचको द्वन्द्व, श्रमजीवी वर्ग र दलाल पुँजीवादी व्यवस्थाबीचको टकराव, वैदेशिक व्यापारी र स्थानीय व्यापारीबीचको प्रतिस्पर्धा, नवऔपनिवेशिक पूँजी र राष्ट्रिय पूँजीबीचको अन्तरविरोध तथा उत्पीडित श्रमजीवी जनता र दलाल संसदीय व्यवस्थाबीचको संघर्षलाई प्रमुख अन्तरविरोधका रूपमा पार्टीले उल्लेख गरेको छ।

विश्वस्तरका अन्तरविरोधहरू
पार्टीले विश्व राजनीतिमा पनि विभिन्न शक्ति केन्द्रबीच द्वन्द्व तीव्र भइरहेको जनाएको छ। विश्वसाम्राज्यवाद र उत्पीडित श्रमजीवी जनता बीचको संघर्ष, अन्तरसाम्राज्यवादी प्रतिस्पर्धा, साम्राज्यवादी राष्ट्र र उत्पीडित राष्ट्रहरूबीचको द्वन्द्व, साम्राज्यवादी देशहरूमा एकाधिकार पूँजीपति र सर्वहारा वर्गबीचको संघर्ष तथा पुँजीवादी र समाजवादी व्यवस्थाबीचको वैचारिक टकरावलाई पार्टीले विश्वस्तरका प्रमुख अन्तरविरोधका रूपमा व्याख्या गरेको छ।

वैचारिक मार्गदर्शन र लक्ष्य
पार्टीले आफ्नो वैचारिक मार्गदर्शन मार्क्सवाद, लेनिनवाद र माओवाद रहेको स्पष्ट गरेको छ। कार्यक्रमका रूपमा “नेपाली समाजवाद” अघि सारिएको छ भने दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद हुँदै साम्यवाद स्थापना गर्नु रहेको पार्टीको भनाइ छ।

जनतामा जाऔँ, जनताको सेवा गरौँ अभियान
पार्टीले “जनतामा जाऔँ–जनताको सेवा गरौँ” भन्ने कार्यनीतिक नारासहित देशव्यापी जनअभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। अभियान अन्तर्गत सहिद तथा बेपत्ता परिवार, राजनीतिक पीडित, किसान, मजदुर, दलित, महिला, विपन्न तथा सामाजिक रूपमा उत्पीडित समुदायका घरघरमा पुगेर समस्या संकलन र समाधानका लागि पहल गरिने बताइएको छ।

पीडित समुदायसँग प्रत्यक्ष सम्पर्क
पार्टीले मिटरब्याज पीडित, सहकारी ठगी पीडित, वैदेशिक रोजगार पीडित, प्राकृतिक विपद् पीडित तथा सामाजिक विभेदमा परेकाहरूको घरघरमा पुगेर उनीहरूको समस्या बुझ्ने र समाधानका पहल गर्ने जनाएको छ। विदेशमा रोजगारीका क्रममा मृत्यु भएका, ठगिएका वा बन्धक बनाइएका नेपालीका परिवारसँग पनि पार्टीले प्रत्यक्ष संवाद गर्ने योजना अघि सारेको छ।

भ्रष्टाचार र तस्करीविरुद्ध आन्दोलन
भ्रष्टाचार, तस्करी, कालोबजारी, बेरोजगारी, वित्तीय शोषण तथा सामाजिक भेदभावका विरुद्ध संघर्ष र आन्दोलनलाई तीव्र बनाइने पार्टीले जनाएको छ। भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको सामाजिक बहिष्कार र विभिन्न घोटाला प्रकरणहरूको भण्डाफोर अभियान पनि सञ्चालन गरिने बताइएको छ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दामा अभियान
पार्टीका अनुसार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दामा देशभर छलफल, अन्तरक्रिया, गोष्ठी, प्रदर्शन र प्रकाशन कार्यक्रम सञ्चालन गरिनेछ। साथै विद्यालय, विश्वविद्यालय, सरकारी कार्यालय, निजी कम्पनी तथा सामाजिक क्षेत्रसँग संवाद गर्दै जनआधारित सामाजिक रूपान्तरणको अभियान अघि बढाइने योजना रहेको छ।
पार्टीले नवऔपनिवेशिक दलाल पुँजीवादी संसदीय व्यवस्थाका विभिन्न नेता, मन्त्री र सांसदहरू मुछिएका मानव तस्करी, सहकारी ठगी, तस्करी तथा सरकारी सम्पत्ति घोटालाका घटनाहरूको भण्डाफोर गर्ने अभियान पनि सञ्चालन गर्ने जनाएको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • .

  • .

  • .

  • .

  • .

Tags