काठमाडौं ९ वैशाख — सुदन गुरुङ ले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। बुधबार उनले आफ्नो राजीनामा बालेन्द्र शाह लाई बुझाएका हुन्।
गुरुङले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी गराउँदै आफूविरुद्ध उठेका शेयरसम्बन्धी प्रश्न तथा जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले पदभन्दा नैतिकता ठूलो हुने भन्दै निष्पक्ष छानबिनका लागि पदबाट हट्ने निर्णय गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको दिन नै मन्त्रिपरिषद् गठन गर्दा गुरुङलाई गृहमन्त्री नियुक्त गरिएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक गर्दै गुरुङले पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयरसम्बन्धी विषयमा उठेका टिप्पणी र प्रश्नलाई गम्भीर रूपमा लिएको बताएका छन्। सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको उनको भनाइ छ।
पदमा रहँदा ‘conflict of interest’ देखिन नदिने र सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुन सहज होस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उनले बताएका छन्।
गुरुङले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै परिवर्तन चाहने सबैलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह पनि गरेका छन्।
















Leave a Reply