११ असोज २०८३,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आफ्नो प्रथम राष्ट्रिय सम्मेलन असोज ५, ६, र ७ गते काठमाडौमा सप्पन्न गर्दै नयाँ नेतृत्व र राजनीतिक कार्यदिशा सहित वर्तमान व्यवस्थाविरुद्ध संघर्षलाई अगाडि बढाउने घोषणा गरेको छ। सम्मेलनबाट महासचिवमा निर्वाचित उदयबहादुर चलाउने ‘दीपक’ले नेपाली जनताको अवस्था परिवर्तन गर्न व्यवस्था नै परिवर्तन गर्नुपर्ने धारणा राख्दै सरकारका गतिविधिविरुद्ध निकट भविष्यमा संघर्ष अघि बढाउने बताएका छन्।
काठमाडौंमा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय सम्मेलनले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नुका साथै दीपकलाई महासचिवको जिम्मेवारी दिएको थियो। सम्मेलनले वैज्ञानिक समाजवादलाई पार्टीको राजनीतिक कार्यदिशाका रूपमा अघि बढाउँदै ‘जनसंविधानका लागि जनपरिचालन’ कार्यक्रम अघि सारेको जनाएको छ।
सम्मेलनले पार्टी नेतृत्वमा दुई कार्यकालभन्दा बढी जिम्मेवारी सम्हाल्न नपाउने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, केन्द्रीय समितिमा युवाको सहभागिता ४० प्रतिशतभन्दा नघट्ने तथा उत्पीडित समुदायको सहभागिता सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको पार्टीको प्रेस वक्तव्यमा उल्लेख छ।
सम्मेलनपछि आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव दीपकले वर्तमान राजनीतिक व्यवस्थाले जनताको अवस्था परिवर्तन गर्न नसकेको दाबी गर्दै त्यसको विकल्पमा संघर्ष अघि बढाउने बताए।
उनले वर्तमान व्यवस्थालाई ‘दलाल पुँजीवादी व्यवस्था’ भन्दै बालेन सरकारले राष्ट्रिय स्वाधीनता कमजोर बनाउँदै गएको, सुशासनका नाममा कुशासनलाई प्रश्रय दिएको र जनताको जनजीविकालाई थप कष्टकर बनाएको आरोप लगाए।
“सुरुमै सुकुम्बासी बस्तीमा डोजर चलाएर यो सरकार निम्न वर्गको शत्रु र उच्च वर्गको रक्षाकवच बनेको पुष्टि भएको छ,” महासचिव दीपकले भने।
उनले सरकारका गतिविधिविरुद्ध पार्टीले निकट भविष्यमा संघर्षको प्रक्रिया अगाडि बढाउने बताउँदै ‘जनसंविधानका लागि जनपरिचालन’ मार्फत वर्तमान व्यवस्थालाई विस्थापन गर्ने संघर्ष अघि बढाउने उद्घोष गरे।
महासचिव दीपकले भोटेकोशीमा आएको बाढीलाई अवसर बनाएर सरकारले एकद्वार प्रणालीका नाममा ठूलो रकम संकलन गरेको तर उक्त रकम बाढीपीडितको राहतमा प्रभावकारी रूपमा प्रयोग नभएको आरोप पनि लगाए। रकम प्रधानमन्त्रीको कार्यालयमा थन्क्याइनु रकम अपचलन र भ्रष्टाचार गरेसरह भएको उनको दाबी थियो।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र साहको ‘अपरिपक्वता’का कारण हजारौं नागरिकले ज्यान गुमाएको र विपद्पछिको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको आरोपसमेत उनले लगाए। यी दाबीहरू नेकपा (बहुमत)का महासचिव दीपकले पत्रकार सम्मेलनमा व्यक्त गरेका हुन्।
पार्टीका नेता गुणराज लोहनीले प्रधानमन्त्री साहले संयुक्त राष्ट्रसंघ महासभामा हिमालय क्षेत्रलाई प्रयोगशालाका रूपमा प्रयोग गर्न सकिने आशयको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए।
नेकपा (बहुमत)ले राष्ट्रिय सम्मेलनमार्फत गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता, वैज्ञानिक बस्ती विकास तथा प्राकृतिक विपद्बाट जनताको सुरक्षा लगायतका विषयलाई समेत आफ्नो राजनीतिक कार्यक्रमसँग जोडेको जनाएको छ।
पार्टीले वर्तमान ‘दलाल पुँजीवादी गणतन्त्र’को विकल्पमा समाजवादी गणतन्त्र स्थापना गर्ने लक्ष्य अघि सारेको छ। सम्मेलनबाट पारित राजनीतिक प्रस्तावमा जनताको अधिकार स्थापित गर्न संघर्ष र जनपरिचालनलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
यसरी प्रथम राष्ट्रिय सम्मेलनबाट संगठनात्मक संरचना र नयाँ नेतृत्व तय गरेको नेकपा (बहुमत)ले सम्मेलनलगत्तै सरकारका गतिविधिविरुद्ध राजनीतिक संघर्षलाई प्राथमिकताका साथ अघि बढाउने संकेत गरेको छ।













Leave a Reply