२९ साउन २०८३,
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी र सशस्त्र प्रहरीसँग सम्बन्धित अनियमितताको विषयमा संसदीय समितिमा परेको उजुरीबारे आफूहरूले कपोकल्पित आरोप नलगाएको बताएका छन्।
सुनारले सामाजिक सञ्जाल फेसबुकमार्फत समितिमा परेको उजुरी र त्यसपछि भएको प्रक्रियालाई लिएर टिप्पणी गर्दै अनियमितताको छानबिन ‘भैलिको शैलीमा’ हुन नसक्ने बताएका हुन्।
उनले समितिमा बदमासी भएको दाबी सहित उजुरी आएपछि सार्वभौम सांसदको हैसियतमा आवश्यक प्रश्न गरिएको र समितिले १५ दिनभित्र सम्बन्धित सबै कागजात पेश गर्न निर्देशन दिएको उल्लेख गरेका छन्। उनका अनुसार विषयमा आवश्यक छानबिन हुन बाँकी रहेकाले प्रक्रिया जारी छ।
सुनारले अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्रै कसैले न्यायाधीशको भूमिकामा फैसला गर्दै हिँड्न नहुने धारणा राखेका छन्। उनले आरोपितलाई संरक्षण गर्दै समिति–समितिमा गएर प्रवचन दिनु उचित नभएको भन्दै कडा आपत्ति जनाएका छन्।
‘भाषण नै गर्ने रहर भए बर्दी खोलेर चुनाव लड्न आउने’ भन्दै उनले सुरक्षा निकायका कर्मचारीलाई राजनीतिक शैलीमा प्रस्तुत नहुनसमेत चेतावनी दिएका छन्।
सांसद सुनारले प्रहरीका तल्लो तहका कर्मचारीले भोगिरहेको आर्थिक तथा कार्यगत अवस्थाको विषय पनि उठाएका छन्। उनले सिपाही तथा हवल्दारले पुरानो बुट र चुस्ता लगाएर लामो समय सडकमा ड्युटी गर्नुपर्ने, परिवारका छोराछोरी पढाउन तथा बैंकको किस्ता तिर्नसमेत कठिनाइ भइरहेको उल्लेख गरेका छन्।
गरिब तथा तल्लो तहका सुरक्षाकर्मीका नाममा आएको बजेटमा अनियमितता भएको भए त्यसको हिसाब हुनुपर्ने उनको भनाइ छ। ‘जुत्ता लगाउने हो, खाने होइन’ भन्दै उनले अनियमितताविरुद्ध आफू पछि नहट्ने संकेत गरेका छन्।
सुनारले आफू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक प्रहरी संगठनको पक्षमा रहेको उल्लेख गर्दै नेपाल प्रहरीप्रति सम्मानसमेत व्यक्त गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसको अन्त्यमा ‘सत्य सेवा सुरक्षणम्’ उल्लेख गर्दै नेपाल प्रहरीको जय र ‘जय नेपाल’ भनेका छन्।











Leave a Reply