किन तानिन्छ सडकमा रसी र रोकिन्छ सवारी ? चौधरी समुदायको परम्परागत ‘चराई कार्यक्रम’ को रहस्य

05 Baishakh 2083
किन तानिन्छ सडकमा रसी र रोकिन्छ सवारी ? चौधरी समुदायको परम्परागत ‘चराई कार्यक्रम’ को रहस्य

कैलाली भजनी, ४ चैत्र कठरिया, थारु समुदायको परम्परागत ‘चराई कार्यक्रम’ आज अन्तिम दिन पुगेको छ। आठ दिनसम्म चल्ने यो कार्यक्रम होली पर्वसँग जोडिएको हो। कार्यक्रमको सुरुवाती दिन, जसलाई कठरिया भाषामा ‘भुइया’ भनिन्छ, देवता स्थापना गरी होलि ल्याउने कार्य गरिन्छ भने अन्तिम दिन सडकमा रसी तानेर सवारी साधन रोकेर स्वेच्छिक रूपमा दक्षिणा (सहयोग) मागिने परम्परा छ।

oppo_1024

कार्यक्रममा सहभागी महिलाहरू परम्परागत पोशाकमा लाइनबद्ध भएर सडकमा उभिन्छन् र आवतजावत गर्ने सवारी साधनबाट दक्षिणा (सहयोग) संकलन गर्छन्। यसरी उठाइएको रकमले मुख्यत: होलिका सामग्री खरिद ढोल, ब्यानर इत्यादि जस्ता सांस्कृतिक सामग्री तथा सांस्कृतिक कार्यक्रममा लगानी गरिन्छ भने बाँकी रकम कार्यक्रममा सहभागीहरुलाई खाजा – नास्ता मा खर्च गरिन्छ।

कार्यक्रममा एक सहभागी महिलाले Sirius Nepal सँगको कुराकानीमा भनिन, “रसि तानेर बस्दा रसि पातलो हुने र टाढाबाट देखिँदैन। त्यसकारण सवारी साधन तीव्र गतिमा आउँदा दुर्घटना हुने सम्भावना पनि उत्तिकै हुन्छ। तर अहिले हामी रसि तानेर बस्न छोडेर लाइनबद्ध भएर बस्छौँ। यस्तो गर्दा सवारी साधनले टाढैबाट देख्छन् र गति कम गर्छन्। जसले गर्दा दुर्घटना हुनबाट बच्न सकिन्छ। यसरी हामी सुरक्षित रहँदै परम्परा निभाउँदछौं।”

पुरानो चलनका अनुसार ‘चराइ’कार्यक्रम स्वास्थ्य, रोग र खाँसीबाट बचाउने, दुःख-कष्ट भगाउने र गाउँमा सुख, शान्ति ल्याउने उद्देश्यले मनाइन्छ। चौधरी, कठरिया समुदायका स्थानीयले भने, “हामी पूजापाठ गरेर होलिका दाहन गरिसकेपछि चराई कार्यक्रम मनाउँदछौँ। यसले हाम्रो संस्कृति परम्परा र पहिचान झल्काउँदछ।”

कार्यक्रममा महिला मात्रै सहभागी हुने कारणबारे एक सहभागीले भनिन्, “यो कार्यक्रममा महिलाको मुख्य भूमिका हुन्छ। पुरानो संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन हामीले सक्रिय रहनुपर्दछ।” नयाँ पुस्ताले पनि यो परम्परा जारी राख्ने जिम्मेवारी बोध गर्दै सक्रिय सहभागिता देखाएको बताइन्।

कतिपयले सडकमा रसी तानेर दक्षिणा (सहयोग) माग्दै गर्दा सवारी दुर्घटना हुने सम्भावनाबारे चिन्ता व्यक्त गरे पनि, आयोजकहरूले भने रसीको सट्टा कार्यक्रममा सहभागीहरु सबै सडकमा लाइनबद्ध तरिकाले उभिदा सवारीचालकले टाढैबाट देख्ने भएकाले जोखिम कम हुने बताएका छन्।

यो कार्यक्रम थारु, कठरिया समुदायका सबै ठाउँमा मनाइने र पुराना सांस्कृतिक चलन जोगाउने महत्वपूर्ण माध्यमको रुपमा रहेको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tags