जाजरकोट ३ वैशाख / निर्माण व्यवसायी संघ भेरी नगरपालिका ३ जाजरकोटले इन्धन जन्य सामग्री ढुवानीमा भइरहेको अत्याधिक मूल्य वृद्धिले निर्माण उद्योगमा “आपतकाल” परेको जनाएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्थाले निर्माण उद्योग नै ठप्प हुने स्थितिमा पुगेको बताएको हो।
संघका अनुसार मध्यपूर्वका देशहरूमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल र मट्टी तेल लगायतका इन्धन सामग्रीहरूमा पटक – पटक अत्याधिक मूल्य वृद्धि भएको छ। यससँगै निर्माण कार्यमा प्रयोग हुने बिटुमिन, सिमेन्ट, डन्डी, इट्टा लगायतका निर्माण सामग्रीको अत्याधिक मूल्य वृद्धि र बजारमा सामग्रीहरूको अभावले निर्माण क्षेत्र ठप्प हुने स्थितिमा पुगेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, बजारमा निर्माण सामग्रीको मूल्य अस्वभाविक रूपमा बढे पनि देशका विभिन्न ठाउँमा क्रसर उद्योग तथा ढुवानीमा देखिएको समस्याले निर्माण उद्योग थप आक्रान्त भएको र निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय निर्माण व्यवसायी महासंघले बारम्बार नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेता पनि अहिलेसम्म कार्यान्वयन नभएको जनाएको छ।
संघका अनुसार ठेक्का मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएपनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामग्रीहरूको मूल्य घटिएको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको संघले बताएको छ।
साथै निर्माण कार्य तीव्र रुपमा हुने समयमा नै इन्धन सामग्रीहरू सहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेको मूल्यवृद्धि र अभावले निर्माण व्यवसायीहरुलाई ठूलो आर्थिक भार परेको र निर्माण उद्योगमा “आपतकाल” घोषणा गरी व्यवसायीहरूलाई अभिलम्ब राहत दिन संघले जोडदार माग गरेको छ।
संघले, प्रत्येक आयोजनामा मूल्य वृद्धि भए अनुरूप हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका – २ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तहका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न पनि संघले सरकार समझ अपिल गरेको छ।











Leave a Reply