१ भदौ २०८३,
काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिका–४ स्थित भकुण्डे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठलाई युवतीसहित एक होटलबाट नियन्त्रणमा लिइएको छ।
प्राप्त विवरणअनुसार आइतबार राति नमोबुद्ध क्षेत्रको एक होटलबाट श्रेष्ठसहित दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेल पुर्याइएको हो। घटनाबारे स्थानीयबाट सूचना आएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोली होटलमा पुगेको र दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रबिन कार्कीले बताएका छन्।
घटनापछि श्रेष्ठको जिम्मेवारी र आचरणलाई लिएर स्थानीयस्तरमा प्रश्न उठाइएको छ। यद्यपि, घटनाको वास्तविक अवस्था र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच, घटनासँग सम्बन्धित भनिएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त विषय थप चर्चामा आएको छ। भिडियोमा स्थानीयले श्रेष्ठसँग घटनाबारे प्रश्न गरिरहेको देखिन्छ भने उनीमाथि व्यक्तिगत रिसिइबीका कारण आरोप लगाइएको दाबीसमेत सुनिन्छ।
श्रेष्ठलाई गत जेठ महिनामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले कार्यसम्पादनका आधारमा उत्कृष्ट प्रहरीका रूपमा घोषणा गरेको थियो।
घटनाको विस्तृत विवरण तथा प्रहरी अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ।











Leave a Reply