काठमाडौं / ८ साउन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भई आलोचना भएपछि सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताले केही दिनअघि गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर बनाएको भिडियो आफैं सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियो भाइरल भएपछि उनले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि र सामाजिक सञ्जालमा आलोचना बढेपछि सांसद गुप्ताले आफ्नो फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्।
उनले बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको र त्यही खुसी तथा रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको बताएका छन्।
फेसबुकमा उनले लेखेका छन्, ‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु।’
उनले अब आफ्नो जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा मागेका छन्।
यसअघि सामाजिक सञ्जाल प्रयोगकर्ताले सांसदजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लङ्घन गर्नु गलत सन्देश भएको टिप्पणी गरेका थिए। सर्वसाधारणले यस्ता कार्य गरे तत्काल कारबाही हुने तर जनप्रतिनिधिमाथि भने कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठाइएको थियो।
यसअघि पनि रास्वपाकी समानुपातिक सांसद सृष्टि भट्टराई गुडिरहेको कारको झ्यालबाट शरीर बाहिर निकालेर भिडियो बनाएपछि आलोचित भएकी थिइन्। त्यसबेला उनले पनि सार्वजनिक रूपमा स्पष्टीकरण दिएकी थिइन्।











Leave a Reply