गम्भीर वैचारिक, सांस्कृतिक तथा संगठनात्मक विचलनको आरोप
काठमाडौं ५ जेठ। समाजवादी कम्युनिस्ट पार्टी नेपालले पार्टी महासचिव पूर्णबहादुर सिंह ‘समरडङ्ग’ लाई पदबाट बर्खास्त गरेको जनाएको छ। पार्टी केन्द्रीय समितिको निर्णयअनुसार उनलाई “गम्भीर वैचारिक आत्मसमर्पण तथा सांस्कृतिक विचलन” का कारण पद तथा पार्टी जिम्मेवारीबाट मुक्त गरिएको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरिएको छ।
नयाँ विचार पाठशाला मार्फत पार्टी लाइनविरुद्ध गतिविधि गरेको आरोप
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार पूर्णबहादुर सिंहले बाह्य शक्तिबाट प्रभावित भई “नयाँ विचार पाठशाला” का नाममा पार्टी स्थायी समिति तथा केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गरिएको विधान, तत्कालीन कार्ययोजना र नेपाली जनक्रान्तिको कार्यदिशा अनुसार दस्तावेजमा नेपालमा सर्वहारा वर्ग नरहेको निष्कर्ष निकाल्दै सर्वहारा वर्गको अधिनायकत्व परित्याग गरेको विपरीत गतिविधि गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा उनले “वैज्ञानिक समाजवाद त्यागेको”, “सर्वहारा वर्गको अधिनायकत्व परित्याग गरेको”, “बल प्रयोगको सिद्धान्त समाप्त पारेको”, “भारतीय साम्राज्यवादसँग मित्रवत सम्बन्ध विकास गर्नुपर्ने नीति अघि सारेको” लगायतका आरोप उल्लेख गरिएका छन्।
पार्टीभित्र अराजकतावाद र गुटबन्दी बढाएको दाबी
पार्टीका अनुसार सिंहले बैठकमा छलफल नै नगरी पार्टीको नीति परिवर्तन गर्दै आएको, आफूनिकट पात्रहरू भर्ती गरेको, पार्टीभित्र परिवारवाद र क्षेत्रीयतावादलाई बढावा दिएको तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र नेतृत्त्व पंक्तिलाई निष्क्रिय बनाएको आरोप लगाइएको छ।
त्यस्तै, “आर्थिक अपारदर्शितालाई प्रोत्साहन गरेको”, “अन्तर्राष्ट्रिय सर्वहारा भाइचाराको सट्टा अन्तर्राष्ट्रियतावाद विरोधी अवधारणा अघि सारेको” तथा पार्टीलाई “निजी क्लब” का रूपमा सञ्चालन गर्न खोजेको आरोप पनि विज्ञप्तिमा समेटिएको छ।
अशोक सुवेदीलाई कार्यवाहक महासचिवको जिम्मेवारी
पार्टीले गम्भीर विचलनका कारण पूर्णबहादुर सिंहलाई आजकै मितिबाट महासचिवसहित सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ। साथै विधानअनुसार पार्टी स्थायी समिति सदस्य तथा ज्येष्ठ सदस्य क. अशोक सुवेदीलाई कार्यवाहक महासचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्ति












Leave a Reply