शनिबार, १९ वैशाख २०८३/ चैत मासको मौसम, काठमाडौँ उपत्यकाको अस्तव्यस्तता उस्तै छ । एउटा वर्गलाई स्वर्गजस्तो लाग्ने यो सहर अर्को वर्गका निम्ति कष्टसाध्य अध्याय भएको छ । गौशाला नजिकै आइपुगेको छु । जाम पर्न सुरु भएको छ । कुनै भारतीय मूलको माग्नेले गाडीभित्रै छिरेर केही पैसा मागिरहेको छ । दस रुपैयाँको नोट उसलाई दिन्छु । मेरो यो हैसियतप्रति ऊ आफैँ पनि ओठ लेप्र्याउँछ । आफैँ लज्जित हुनुबाहेक मसँग अर्को उपाय पनि छैन । सहरमा सामान्य पत्रकारितामार्फत नुनतेल जोर्ने मजस्तो मजदुरले उसलाई योभन्दा धेरै के दिन सक्छु र !
सदाका वर्षहरूमा झैँ यसपटक पनि रामेछापको यात्रामा जोडिएको छु । यस वर्ष विश्वमै पहिलो मार्क्सवादी विश्वविद्यालय उद्घाटन र कक्षा सञ्चालन गर्ने उद्घोष गरिएको छ । आयोजक अशोक सुवेदी फोन गरिरहेका छन् । चक्रपथको जामलाई नजिकबाट देखेकाको यो हतारो केका लागि हो, म आफैँ बुझ्दिनँ । प्रायः हतारमा अभिव्यक्त भइरहनु अशोक सुवेदीको स्वभाव हो । पार्टी राजनीतिमा विप्लवका नाममा समेत चिनिने अशोक सुवेदीको हतारमा पनि विप्लवीपन देखिन्छ । हतारको यात्रा बन्न सक्छ एउटा मीठो र सान्दर्भिक निबन्ध पनि ।
कोटेश्वर पुगेपछि रामेछाप जानका लागि तयारी अवस्थामा रहेछन् विनयराज, विनोद थापा, समीर यात्री, प्रा.डा. गोपीन्द्र पौडेल, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायत अतिथि । कोटेश्वरको आकाशे पुल नजिकै बनेको फलैँचामा सुस्ताउँदै गाडीको प्रतीक्षामा थिए अभियात्रीहरू । एकजना साथी कतैबाट आउँदै छन् भनेर लामो समय कुर्न बाध्य भइयो । १२ बज्नै लाग्दा पनि साथी आउन बाँकी भनेपछि गाडी कुद्यो भक्तपुरतिर । बिस्तारै समरजङ्ग, सुदर्शन, सुदृष्टिहरू थपिँदै गए । यात्रा आकारमा व्यक्त हुँदै गयो ।
हुइँकिरहेको बसमा काँठ क्षेत्रको भाका बज्न थाल्यो । यसपटक यात्रामा पढ्छु भनेर सुविन भट्टराईको उपन्यास ‘इजोरिया’ बोकेको थिएँ । म पढ्न थालेँ । मसँगै थिए जनयुद्धको विरासतमार्फत आएका र पछिल्लो समय पत्रकारितामा सक्रिय वैचारिक युवा खम्बु चन्द । कुनै समय समीर यात्रीका नाममा साहित्य लेख्ने चन्दजी वैज्ञानिक समाजवादबारेको किताब पढ्न थालेका थिए । यात्राहरूमा पढ्नु मनासिब कुरा हो । यात्राबाट सिक्नु मानव जातिको आदिम गुण हो ।

केही जामहरू छिचोल्दै हामी चढेको बस बनेपा बजार पुग्यो । साँगा भञ्ज्याङ कटेपछि धुलो उडिरहेको थियो । देशजस्तै निर्माणाधीन बाटाहरू असजिला थिए । धुलोले भरिनु र बसको गतिका कारण थचारिनु सामान्य भएको थियो । बनेपा–धुलिखेलमा सडक निर्माणको काम भइरहेको रहेछ । गाडी धुलिखेल नगई पनौतीतिर सोझियो । बाटो खाली थियो । अब जाम पर्ने कम सम्भावना थियो ।
पनौती भनेपछि एउटा मीठो क्यानभास मनभित्र बन्छ । कुनै आदिम मन्त्र जपिरहेको जस्तो लाग्ने यो सानो सहरमा म पटकपटक पुगेको छु । पनौतीको किनारमा उभिएर मैले पटकपटक उत्तरआधुनिक साहित्यदेखि नेपाली समालोचनाका विषयमा समेत बहस गरेको छु । तर बस पनौती सहरसम्म पुगेन, बीचबाट काठमाडौँ विश्वविद्यालयतिरको बाटोतिर मोडियो र कुद्न थाल्यो । काठमाडौँ विश्वविद्यालयनेरको सल्लेरी पाखा सुसाइरहेको थियो । घाम आफ्नो जीवनको लयमा नै थियो । अलि पर बाक्ला बस्तीहरू देखिन्थे ।
समीर यात्री क्वान्टम थ्यौरीवाला अध्याय पढिरहेका थिए यात्रामा ।
बिस्तारै पाँचखाल देखियो । भकुन्डेबेँसी आयो । काभ्रे र सिन्धुलीका खोँचहरू आए । गहिरा खोँचमा सानासाना नदीका गहिराइ पनि देखिए । खोलामा बाल्यकालीन दिनहरूमा पौडी खेलिरहेका केही बालबालिका देखिए । मकैका हरिया फाँट पनि देखापरे । यो भेगका पर्यावरणका बारेका प्रसङ्गहरू मेरा अगाडिका लेखहरूमा पनि आइसकेका छन् । ती लेखहरू ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय’ ग्रन्थमा समेटिइसकेका छन् । यसलाई फेरि उल्लेख गर्नुपर्दैन जस्तो लाग्छ ।
रामेछापको सिमानामा आइपुगेपछि अशोकले फोन गरे– “यसपटक सेलेघाटबाट सीधै माथि बेतिनी हुँदै ल्याङल्याङ क्षेत्रबाट गाडी आउँछ । मन्थली घुमिरहनु पर्दैन । हामी भँगेरी आइसकेका छौँ । आधा घण्टामा यहीँ आइपुग्नुहुन्छ तपाईंहरू पनि ।” उनी हामीलाई प्रेरित गरिरहेका थिए ।
गाडी तीव्रताका साथ कुदिरहेको थियो । फोनमा क्यारक्यार आवाज आइरहेको थियो र पनि फोन आइरहेको थियो ।
रामेछाप जिल्लाको एक सुक्खा क्षेत्र हो बेतिनी कटेपछि पुगिने ल्याङल्याङ । ठूलाठूला बारीका पाटाहरू अनि केही लेकाली रूखहरू देखिन्छन् ल्याङल्याङमा । तल निलो भएर बगेको छ सुनकोसीमा समर्पित भइसकेको तामाकोसी । माथि सिँचाइ नभएका पाटाहरू छन् ।

एउटा विरोधाभास उभिएको थियो ल्याङल्याङमा । तल पानी छ, माथि सुक्खा । ‘धेरै ल्याङल्याङ नगर’ भन्ने शब्द निकै प्रचलित छ नेपाली समाजमा । यो गाउँ र यो शब्दको पक्कै पनि केही साइनो हुनुपर्छ ।
यसपटक घामलाई बादलले छोपिरहेको थियो । ल्याङल्याङ क्षेत्रचाहिँ एक झरी पानी कुरिरहेझैँ लाग्थ्यो । जमिन गल्ने गरी पानी परेपछि मात्र यता मकै रोप्लान् किसानहरूले । किसानको जिन्दगीमा एक झरी पानी कति महत्त्वपूर्ण छ, यहाँ आएपछि बुझिन्छ । ल्याङल्याङमा चाँडै पानी परोस्, यस्तै सोच्दै थिएँ ।
गाडीमा नवीन के भट्टराईको पुरानो पप गीत बजिरहेको थियो । भट्टराईको जादुई स्वर खुब सुनियो एक समयमा । अहिले पनि उनको स्वर उम्दा लाग्छ । पप सङ्गीतको एउटा युगका रुमानी सम्झनाहरू छन् मसँग । रेडियो र ती पप गीतहरू । अनेक प्रभावहरू मानिसको जीवनमा परेकै हुन्छन् । पप सङ्गीतबाट त्यो युगमा म पनि प्रभावित भएकै थिएँ ।
यस भेगमा फाट्टफुट्ट घरहरू देखिन्थे । केही घरमा ताल्चा लागेका थिए । सायद कोही सदरमुकाम र कोही काठमाडौँ वा दूर देशसम्म पुगे होलान् । यो सुक्खा गाउँ कुरेर को बसोस् ? यो दुर्गम गाउँमा नवीन भट्टराईलगायत गायकगायिकाका स्वरहरू घन्किरहे । बस कुदिरह्यो । बसको हर्न तीखो स्वर बनेर परसम्म फैलियो ।
गाडी केही बेरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल र अमर सहिद गङ्गालाल श्रेष्ठको जन्मथलो भँगेरी पुग्यो । केही हरियोपन देखियो भँगेरीमा । विश्वविद्यालयका परिकल्पनाकार अशोक सुवेदी, विश्वम्भर लामिछाने र केही स्थानीयहरू हामीलाई स्वागत गर्न आइसकेका थिए ।
यहाँ त ठाउँको नाउँ नै सुक्खाजोर छ । खेतमा कमिलाहरू हिँडेका देखिन्छन् । जिन्दगीको कथा र जिउनुको व्यथा बेग्लै छ यहाँ ।
रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने आफैँ कार्यक्रमस्थलमा देखिए । नेपाली काङ्ग्रेस रामेछापका निवर्तमान सभापति न्यौपाने स्वयम्चाहिँ समाजवादी र कम्युनिस्ट चरित्रका मान्छे रहेछन् । आफैँ काँधमा कुर्सी बोकेर कार्यक्रमको व्यवस्थापन गर्दै कार्यक्रमस्थलमा खटेका थिए । उनले गङ्गालाल–पुष्पलालको सालिक व्यवस्थित गरेर रङरोगनसम्म गरिदिएका रहेछन् । विश्वविद्यालयको ब्यानर उद्घाटन गरियो । कार्यक्रममा उनीसहित काठमाडौँबाट गएका सहभागीहरू र आयोजक सुवेदीले मार्क्सवादी विश्वविद्यालयबारेमा धारणा राखे ।
लवश्री न्यौपानेले रामेछापको स्थानीय रामेछाप बिस्कुट र चिया खुवाए । सहभागीहरूको भोकको तीव्रता केही मत्थर भयो । बिहान साढे आठ बजे खाना खाएकाले भोक लागेकै थियो । समीर यात्री र विद्यार्थी नेता मुक्तिसँग कार्यक्रमस्थलबाट केही तल ओर्लिएँ । केही ऐँसेलुका दानाहरू खाइयो । पानीको अभावले ऐँसेलुमा कुनै स्वाद थिएन । सम्झिएँ मेरै गाउँ । त्यो सुन्दर अनि हरियाली ठाउँ । हाम्रो गाउँका ऐँसेलु साह्रै रसिला हुन्छन् । खोल्साहरूमा ऐँसेलु खुब फल्छन् । पानीको महत्त्व यहाँ आएपछि बुझेँ ।
यहाँ त ठाउँको नाउँ नै सुक्खाजोर छ । खेतमा कमिलाहरू हिँडेका देखिन्छन् । जिन्दगीको कथा र जिउनुको व्यथा बेग्लै छ यहाँ । सुक्खा गाउँको बीचमा कालोपत्रे सडक देखिन्छ । गर्मीले बेग्लै अस्तित्व बनाएको छ यहाँ । मानिसहरूले सुक्खा भूगोलमा बाँच्न सिकिसकेका छन्, अभ्यस्त भइसकेका छन् ।

सानोतिनो सभा जमेपछि हामी मन्थली सिर्जनानगर जाने तयारीमा लाग्यौँ । मन्थली नजिकैको गाउँ सानीमदौलाई अशोकले दुई दशकअघि सिर्जनानगर नामकरण गरेका छन् । सिर्जनानगरमा थुप्रै सिर्जनात्मक प्रतिभाहरू जन्मिरहेका छन् ।
तल गाउँमा पुग्दानपुग्दै झमक्क साँझ परिसकेको थियो । खाना पनि तयार भइसकेको थियो । लामो यात्राले जिउ थकित थियो । खाना खाएर म सुत्ने तरखरमा लागेँ । अरू यात्री पनि सुत्ने तयारीमा थिए । चारतले हित–जून युद्धकला सङ्ग्रहालय भवनको माथिल्लो तलामा सुत्ने अवसर मिल्यो । सिरसिरे हावा चल्न थाल्यो । गर्मीमा हावाको खुब महत्त्व हुन्छ ।
अशोकले भनिसकेका थिए– “भोलि मन्थली नगरपालिका हलमा प्रस्तावित पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको आयोजनामा कक्षाहरू सुरुआत हुनेछन् ।” बिहान उठेपछि मैले सामाजिक सञ्जालमा एउटा तस्बिर राखेर लेखेँ– ‘शुभ बिहानी सिर्जनानगर (सानीमदौ) बाट ।’ केही बेरमा अनौपचारिक चिया बहसको कार्यक्रम भयो । राष्ट्रिय राजनीतिका सन्दर्भमा गरमागरम बहस भयो ।
यसपटक पोहोरपरारजस्तो गर्मी थिएन । घुर्माइलो मौसम थियो । नत्र यहाँ तीखो गर्मी हुन्थ्यो ।
खाना खाएपछि हामी सिर्जनानगरबाट पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका ब्यानरसहित पङ्क्तिबद्ध पदयात्रा गर्दै मन्थली पुग्यौँ । कक्षामा विभिन्न उमेरसमूहका महिला र पुरुष सहभागी थिए । जनवर्गहरूबाट प्रतिनिधित्व गराइएको थियो । पहिलो कक्षामा हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले मार्क्सवादी दर्शनशास्त्र पढाए । सुदर्शनका कक्षाहरू महत्त्वपूर्ण हुन्छन् प्रायः किनकि उनी पछिल्ला विज्ञान, प्रविधि र दर्शनका क्षेत्रमा अपडेट छन् । भाषा र प्रस्तुतीकरण पनि रोचक र प्रभावकारी छ । वर्गसङ्घर्षमार्फत राजनीतिमा आएका सहिदपिता सुदर्शनले दर्शनशास्त्रको सुरुआतदेखि अहिलेसम्म दर्शनका क्षेत्रमा मार्क्सवादको सान्दर्भिकतालाई जोडी कक्षा सञ्चालन गरे ।
मार्क्सले दर्शनलाई आफ्नो समयको बौद्धिक सारतत्त्वका रूपमा व्याख्या गरेका छन् । यही कुरालाई जोड दिँदै सुदर्शनले मन्थली र सिर्जनानगरमा गरेर पाँच घण्टामा दर्शनशास्त्रका दुईवटा कक्षा लिए । सही विचार आउनका लागि उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगलाई मुख्य मानिन्छ । सुदर्शनले यो तथ्य राख्दै व्याख्या गरे । पाइथागोरसले प्रारम्भमा फिलोसफी शब्दको प्रयोग गरेका थिए । यो शब्दको शाब्दिक अर्थ विवेक र प्रेम थियो । विवेक र प्रेमबाट दर्शन आजको अत्याधुनिक विज्ञान–प्रविधिको युगसम्म आइपुगेको छ । विज्ञानले ठूलो प्रगति गरेको छ । पाइथागोरसको सिद्धान्तदेखि जेनजी आन्दोलनसम्मलाई सुदर्शनले मार्क्सवादी आँखाबाट हेर्दै व्याख्या गरे ।
यसपटक कविता प्रतियोगितामा निर्णायकका रूपमा मसहित अम्बिका चन्द ‘सुदृष्टि’ र विनोद सुवेदीको निर्णायकमण्डल बन्यो । निर्णायक हुनुमा मलाई खासै रुचि छैन ।
यो प्रवचन र प्रश्नोत्तरमय कक्षापछि दोस्रो चरणको कार्यक्रम सिर्जनानगरको सभाहलमा हुने भयो । यस वर्ष पनि नियमित सिलसिला जारी रह्यो । अशोकले एउटा अभियानका रूपमा समाजबाट छानिएका असल छोराबुहारीलाई सम्मान गर्ने, लामो समयपछि गाउँ फर्केकाहरूलाई दोसल्ला ओढाउने, कविता प्रतियोगिता, अन्तरजातीय वैवाहिक जोडी र अग्रज नागरिकलाई अभिनन्दन गर्ने आदि कामलाई जोड दिँदै आएका छन् । यो सबै कार्यक्रम हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको ब्यानरमा हुँदै आएको छ ।
समाजमा उदाहरण बनेका छोराबुहारीहरूलाई सम्मान गरिँदा अरू छोराबुहारी पनि प्रोत्साहित हुँदा रहेछन् । जसकारण समाजमा असल सन्देश प्रवाहित हुँदो रहेछ । आदर्शवाद र भौतिकवादबीचको लडाइँ गाउँदेखि घरसम्म जारी थियो । गाउँका मानिसहरू आदर्शवाद पछ्याउँदै भजनमा लिप्त भइरहेको समयमा अशोक मार्क्सवादी विश्वविद्यालय सञ्चालन गर्दै थिए । त्यसैले हुन सक्छ, कार्यक्रममा स्थानीय सहभागिता अघिल्ला वर्षहरूमा झैँ उत्साहजनक नभए पनि एउटा निरन्तरता भने सन्देश प्रवाह गर्दै जब्बर रूपमा अघि बढिरहेको थियो ।
यसपटक कविता प्रतियोगितामा निर्णायकका रूपमा मसहित अम्बिका चन्द ‘सुदृष्टि’ र विनोद सुवेदीको निर्णायकमण्डल बन्यो । निर्णायक हुनुमा मलाई खासै रुचि छैन । साहित्यजस्तो पवित्र विधामा पनि केको निर्णय गर्नु !
समाजमा अर्थपूर्ण लाग्ने दोस्रो दिनको कार्यक्रम समापनपछि यात्रीहरू फेरि अनौपचारिक बहसमा जोडिए । खाना तयार भएकाले सबैले खाना खाए । खाना खाएपछि आफूले खाएको थाल आफैँले माझ्ने चलन छ यहाँ । माओवादी आन्दोलनबाट आएकाहरूलाई यो कुरा सामान्य नै लाग्छ । अरू फरक पृष्ठभूमिबाट आएकाहरूलाई नौलो पनि लाग्ला । यो सर्वहारा सांस्कृतिक क्रान्ति, आत्मरूपान्तरणको अभ्यास र पाठशाला पनि हो । यही जगबाट उठेको छ पुष्पलाल मार्क्सवादी विश्वविद्यालय । यहाँका किसान अगुवा शिवलाल, चन्द्रलाल र हितप्रसाद–जूनमायाहरूले स्थानीय सामन्त जिम्मल–मुखियाविरुद्ध भौतिक रूपमै सङ्घर्ष गरेका थिए । मुक्तिसेनाका योद्धासमेत रहेका कवि हितप्रसाद उपाध्यायले यसलाई छन्दकवितामा उतारेको पाइन्छ ।
अन्तिम दिन करिब आठ घण्टामा तीनवटा कक्षा एकैपल्ट हुने भयो । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थशास्त्रमा मार्क्सवादको महत्त्वलाई बुझाउँदै कक्षा लिए । वर्गसमाजमा अर्थतन्त्रले कसरी काम गर्छ ? नेपालको ग्रामीण अर्थव्यवस्थालाई कसरी जनपक्षीय बनाउन सकिन्छ ? मार्क्सवादीहरूले प्रकृतिलाई दोहन नगर्ने अर्थव्यवस्था कसरी बनाउन सक्छन् ? आदि सन्दर्भलाई जोडेर क्षेत्रीले कक्षा लिए । उनले कक्षा लिने क्रममा अर्थशास्त्रले मनोविज्ञानलाई पनि प्रभाव पार्ने तर्क पेस गरे ।

बर्लिनको पर्खाल ढलेपछि समाजवादी अर्थतन्त्र रक्षात्मक हुँदै गएको सन्दर्भमा पनि दीपेन्द्रबहादुर क्षेत्री सरको कक्षामा बहस भयो । बर्लिनको पर्खाल ढलेपछि पुँजीवादी अर्थतन्त्रले दुनियाँभर रजगज गर्यो । पुँजीवादी अर्थव्यवस्थाले एकातिर दलाल पुँजीवादी रवैया अपनायो भने अर्कोतिर नवउदारीकरणको नीति लियो । क्षेत्री सरको कक्षा नेपालजस्तो देशमा पुँजीवादले कसरी काम गरिरहेको छ भन्नेमा बढी केन्द्रित रह्यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका क्षेत्री सरले नेपालको अर्थव्यवस्थालाई नजिकबाट नियालेका थिए । मार्क्सवादी अर्थव्यवस्था पनि बुझेका उनमा नेपालको अर्थव्यवस्थालाई वैज्ञानिक ढङ्गले व्याख्या गर्ने चेत र क्षमता अवश्य थियो ।
कुनै समय रुसले अपनाएको जनपक्षीय अर्थव्यवस्थाले सबैभन्दा धेरै जनताका पक्षमा काम गर्यो, सबैभन्दा धेरै जनताको सेवा गर्यो । कक्षामा रुस, चीन, नेपाललगायत देशको आर्थिक व्यवस्थाको उदाहरण पेस गरियो ।
हुन पनि समाजवादी सोभियत सङ्घले छोटो समयमा समाजवादी अर्थव्यवस्था कस्तो हुन्छ भन्ने देखाइदिएको थियो । रुसले समाजवादका क्षेत्रमा गरेको कामले श्रमजीवी जनतालाई सधैँ प्रेरित गरिरहने कुरामा मलाई दृढ विश्वास छ ।
०३६ सालको विद्यार्थी आन्दोलनलाई नजिकबाट देखेका प्रा.डा. गोपीन्द्र पौडेल पुराना प्रगतिवादी साहित्यकार र समालोचक हुन् । मन्थली नगरपालिकाको सभाहलमा दोस्रो दिन उनी मार्क्सवादी सौन्दर्यशास्त्रसम्बन्धी कक्षा लिँदै थिए । उनले सर्वप्रथम सौन्दर्यशास्त्रको विकास कसरी भयो भन्ने सन्दर्भलाई जोडे । मार्क्सले भनेका थिए– “संसारलाई बुझेर मात्र पुग्दैन, बदल्नुपर्छ ।” यही सन्दर्भलाई जोडी जनताको सौन्दर्यलाई बुझ्नुपर्ने कुरामा गोपीन्द्र सरको कक्षामा बृहत् छलफल भयो । गोपीन्द्र सरले मार्क्सवादी कला–साहित्यको उद्देश्य, ध्येय र प्रयोजनलाई सन्दर्भ बनाएर केही बुँदा प्रस्तुत गरे । वर्गसमाजमा साहित्य, कला र सौन्दर्यशास्त्र पनि वर्गीय हुन्छ भन्ने उनको जोड थियो ।
संस्कृत साहित्य पनि पढेका गोपीन्द्र सरका शब्दहरू अलि शास्त्रीय पनि लाग्थे । यस कक्षामा उनले विरेचित, अभिव्यञ्जना, अनुप्राणित, उद्भव, ध्येय, संज्ञानात्मक, सङ्कल्पात्मकजस्ता शब्द प्रयोग गरेका थिए । पुराना र खारिएका सौन्दर्यशास्त्रीको यस्तो भाषा स्वाभाविक पनि हो ।
कार्यक्रम सकिएपछि पत्रकार धर्बिन्द्र विक र म केही संवाद गर्दै सिर्जनानगरतिर लाग्यौँ । उनी नयाँ पुस्तालाई कसरी सही विचारसँग जोड्ने भनेर चिन्तित रहे ।
मार्क्सवादी लेखनमा समाजवादी यथार्थवादलाई एउटा मुख्य विषय मानिन्छ । गोपीन्द्र सरले समाजवादी यथार्थ र जनसाहित्यलाई मियो बनाएर निकै महत्त्वपूर्ण धारणा राखे । रुसमा गोर्कीले सर्वप्रथम प्रयोग गरेको समाजवादी यथार्थवाद नेपाली साहित्यमा पनि एक मुख्य धाराका रूपमा रहेको छ । ००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएपछि यो धाराले बेग्लै स्वरूप बनायो । अहिले नेपाली साहित्यमा समाजवादी यथार्थवादलाई मियो बनाएर लेख्नेहरू उल्लेखनीय छन् ।

छोटो समय भएकाले प्रा.डा. गोपीन्द्र पौडेलले केही घण्टा छलफल र प्रवचनमय कक्षा लिए । तर एउटै कक्षाबाट मार्क्सवादी सौन्दर्यशास्त्रजस्तो गहन विषय छिचोल्न कहाँ सकिन्छ र ?
अन्तिम कक्षा लिएका थिए प्रतिभाशाली कम्युनिस्ट नेता पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले । उनको विषय थियो वैज्ञानिक समाजवाद । उनले प्रारम्भमै भने– “सही प्रश्न गरिएन भने हामी सही दिशामा जान सक्दैनौँ ।” यो सामान्य वाक्यजस्तो लागे पनि निकै महत्त्वपूर्ण सवाल हो ।
समरजङ्गले मार्क्स, लेनिन र माओले मार्क्सवादलाई जीवनव्यवहारमै लागू गरेकाले उनीहरू सफल भएको धारणा पनि राखे । अक्टोबर क्रान्तिपछि विश्वभर वैज्ञानिक समाजवादी क्रान्तिको लहर आएको सन्दर्भलाई सिंहले उदाहरणसहित प्रस्तुत गरे । नेपाली समाजको पछिल्लो घटनाक्रमलाई उनले लोकप्रियतावाद र नयाँ पुस्तावाद हावी भएको भनेर व्याख्या गरे । समाजवाद अजेय रहेकोमा सिंहले जोड दिए । सबैभन्दा छोटो समयमा उनले कक्षा समापन गरे । कक्षा निकै रोचक रह्यो ।
कार्यक्रम सकिएपछि पत्रकार धर्बिन्द्र विक र म केही संवाद गर्दै सिर्जनानगरतिर लाग्यौँ । उनी नयाँ पुस्तालाई कसरी सही विचारसँग जोड्ने भनेर चिन्तित रहे । हामी अलि पर आएर वरपीपल चौतारीमा सुस्तायौँ । चौतारामा नानीबाबुहरू खेलिरहेका थिए । अरू साथीहरू मन्थलीमा चिया पिउनतर्फ लागे । चिया पारखी हामी आफैँचाहिँ चिया खानबाट छुटेका थियौँ ।

गर्मीले थाकिसकेको थिएँ म । झन्डै नौ घण्टा लामो कक्षाले पनि थकाएको थियो । अनेकौँ विचारलाई एकै दिनको कक्षामा बुझ्न गाह्रो थियो । भोलिपल्ट बिहान सात बजे नै पहिलेजस्तै कमरेड अशोकले रिजर्भजस्तै गरेर सङ्ग्रहालयमै गाडी बोलाइसकेका थिए । प्रा.डा. गोपीन्द्र पौडेल, दीपेन्द्रबहादुर क्षेत्री, पत्रकार धर्बिन्द्र र म काठमाडौँतिर लाग्यौँ । अरू साथीहरू राजनीतिक मिटिङका निम्ति रामेछाप सिर्जनानगरमै रहने भए । हामी फेरि भेट्ने बाचासहित छुट्यौँ ।
बाटा उस्तै थिए । अप्ठ्याराहरू उस्तै थिए । बस घुम्तीहरूमा कुदिरहेको थियो । जिन्दगीजस्तै थिए घुम्तीहरू पनि । जहाँ मोडिनुपर्ने बाध्यता हुन्छ बसलाई, जस्तै जिन्दगीलाई पनि ।
कोटेश्वर नआइपुग्दै मैले उपन्यास पढिसकेको थिएँ । म एकाएक जनकपुरको परिवेशमा पुगेको थिएँ उपन्यासमार्फत । साहित्यको शक्ति भन्नु नै यही हो । लेखकको कल्पनासँगै पाठक पनि पात्रको दुनियाँमा पुग्छ ।
धर्बिन्द्रजी भक्तपुरमै झरिसकेका थिए । प्रा.डा. गोपीन्द्र पौडेल र दीपेन्द्रबहादुर क्षेत्री पनि लोकन्थलीबाट छुट्टिए । कोटेश्वर आएपछि म महादेवस्थानको पुरानो चिया जक्सनतिर लागेँ जहाँको चिया अहिले पनि नूतन लाग्छ । म सम्झिन थालेँ यात्राका दृश्यहरू– बेतिनी, ल्याङल्याङ, भँगेरी, सिर्जनानगर, पुष्पलाल मार्क्सवादी विश्वविद्यालय अनि देश र भविष्यबारे कविता बाँचिरहेका सानासाना नानीबाबुहरू… ।
जे होस्, यसपटकको यात्रा रोचक रह्यो, सान्दर्भिक रह्यो, मार्क्सवादी विश्वविद्यालय उद्घाटन र कक्षाले दिएको वैचारिक उचाइ पनि । वैचारिक छलफलले आजको समयलाई हेर्ने नयाँ तरिका निर्माण गर्न सहयोग गर्यो नै ।












Leave a Reply